Top Social

Presidential Graduate Research Fellow at Auburn University

नेपालमा कृषि इन्जिनियरिङः कृषि प्रधान देशमा ओझेल परेको कार्यक्रम

 

कृषि प्रधान देशमा खेती, बाली र खाद्यसम्बन्धी विज्ञताको ठूलो महत्व रहन्छ । कृषिजन्य विज्ञताका लागि कृषिमा आधुनिक प्रविधिको प्रयोग सम्बन्धी विषयको अध्ययन महत्वपूर्ण हुन्छ ।

आधुनिक प्रविधिमा आधारित कृषि कार्यको अध्ययन र अुनुसन्धानबाट कृषिका योजना तथा उपकरणको डिजाइन, परीक्षण र सुधार गर्न सकिन्छ । कृषि प्रधान देश नेपालमा पनि कृषि उत्थानमुलक विषयहरू अध्ययन गर्न पाइन्छ । देशका ५ विश्वविद्यालयहरूले फरेस्ट्री, फूड टेक्नोलोजी, एग्रीकल्चर र एग्रीकल्चरल (कृषि) इन्जिनियरिङजस्ता कृषि उत्थानमुलक विषयहरू अध्यापन गराउँदै आएका छन् ।

एग्रीकल्चरल इन्जिनियरिङ
स्नातक तहको फरेस्ट्री, फुड टेक्नोलोजी र एग्रीकल्चरजस्ता विषय अध्ययन गर्न नेपालका सबैजसो विश्वविद्यालयको आगिंक वा सम्बन्धन प्राप्त कलेजहरूमा सहजै सिट भेटिन्छ । एग्रीकल्चरल इन्जिनियरिङ भने नेपालको एक मात्र कलेजमा पढ्न पाइन्छ ।



इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को धरानमा अवस्थित आंगिक क्याम्पस पूर्वाञ्चल क्याम्पसमा एग्रीकल्चरल इन्जिनियरिङ पढाई हुन्छ । ५० को दशकमा पूर्वराजा वीरेन्द्र सरकारले कलकत्ता भ्रमण गर्दा कृषि क्षेत्रको उत्पादकता देखेर नेपालमा पनि प्रविधि मिश्रित कृषि शिक्षा सूचारु गर्ने अवधारणा अघि सारेका थिए ।

सोही अवधारणाअनुरुप उत्कृष्ट कृषि र कृषि अनुसन्धान केन्द्र रहेको नेपालको पूर्वाञ्चल क्षेत्र धरानमा २०५७ सालमा २४ जनाको कोटासहितको एग्रीकल्चरल इन्जिनियरिङ सुचारु भएको हो ।

कृषिलाई प्रविधिसँग जोड्ने विषय एग्रीकल्चरल इन्जिनियरिङले कृषि यान्त्रिकरणलाई मध्यनजर गर्छ । सिंचाई, माटो संरक्षणजस्ता क्षेत्रहरूमा सेवा पनि प्रदान गर्छ । ग्रामीण ऊर्जा र पूर्वाधारको विकास पनि गर्ने भएकाले एग्रीकल्चरल इन्जिनियरिङलाई ग्रामीण इन्जिनियरिङ पनि भनिन्छ ।

खाद्य उत्पादनहरूको प्रशोधन र भण्डारणको आधुनिक विधि प्रदान गर्ने एग्रीकल्चरल इन्जिनियरिङले पानी, पशुधन, फार्महाउस र कृषि व्यवसाय व्यवस्थापनमा पनि सघाउ पुर्याउँछ । एग्रीकल्चरल इन्जिनियरिङमा कृषिमा बाली लगाउने, काटेपछि बालीका लागि ठाउँ व्यवस्थापन गर्नेसम्मका लागि प्रविधियुक्त पोस्ट हार्भेस्टिङ इन्जिनियरिङ समेटिएको पाठ्यक्रम विकास गरिएको छ ।

एग्रीकल्चरल इन्जिनियरिङलाई सिभिल, मेकानिकल, इलेक्ट्रिकल र केमिकल इन्जिनियरिङको समिश्रण पनि भन्न्ने गरिन्छ । जहाँ वर्षको दुईवटा सेमेस्टरमा सिभिल, मेकानिकल, इलेक्ट्रिकल र केमिकल इन्जिनियरिङकै विषयहरूको संयोजन गरिएको छ । वास्तवमै एग्रीकल्चरल इन्जिनियरिङ सबै इन्जिनियरिङ विषयहरूको संयोजन नै हो, जुन कृषि क्षेत्रमा प्रयोग गरिन्छ ।

छैन सरकारी चासो
पूर्वाञ्चल क्याम्पसमा एग्रीकल्चरल इन्जिनियरिङमा हाल ४८ विद्यार्थीका लागि सिट तोकिएको छ । आईओईले प्रत्येक वर्ष इन्जिनियरिङको क्षेत्रमा कृषि विज्ञ गर्दै आए पनि हालसम्म प्रादेशिक र स्थानीय निकायहरूमा एग्रीकल्चरल इन्जिनियरको दरबन्दी सिर्जना गरिएको छैन ।

प्रारम्भमा एग्रीकल्चरल इन्जिनियरिङको परिकल्पना गर्दा प्रत्येक ग्रामीण निकायहरूमा एग्रीकल्चरल इन्जिनियरहरूको दरबन्दी उपलब्ध गराउने भन्ने थियो । सिंचाई विभाग, कृषि विभाग र आवश्यकताअनुसार अन्य विभागहरूमा दरबन्दी उपलब्ध गराउन सकिन्थ्यो तर, त्यसो हुन सकेको छैन ।

यद्यपि विभिन्न परियोजनाहरूमा एग्रीकल्चरल इन्जिनियरहरूको न्युन प्रयोग भने भइरहेको छ । नेपाल कृषि इन्जिनियर्स सोसाइटीले नेपाल सरकारसमक्ष एग्रीकल्चरल इन्जिनियरहरूले काम गर्ने क्षेत्र र उचित वातावरणको व्यवस्थाको माग गर्दै आएको छ ।

सोसाइटीको सोही मागअनुरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाअन्तर्गत भर्खरै एक प्रदेशमा एक एग्रीकल्चरल इन्जिनियरको करारमा दरबन्दी तोकिएको छ । कृषि आधुनिकीकरण भनिए तापनि कृषिकै क्षेत्रमा पनि कृषि इन्जिनियरहरूको दरबन्दी एकदमै न्युन छ, त्यो पनि करारमा ।

सरकारको कृषि ज्ञान केन्द्रले कृषि क्षेत्रमा प्रविधिको विस्तार गर्ने काम गर्छ । जसअनुसार जिल्लापिच्छे नै एग्रीकल्चरल इन्जिनियरहरू राख्नुपर्छ । तर, केन्द्रले पनि कृषि इन्जिनियरहरूको दरबन्दी खडा गरेको छैन । वर्षेनी निकै कम उत्पादन हुने एग्रीकल्चरल इन्जिनियरहरूका लागि केन्द्र, प्रदेश र स्थानीय तहहरूमा दरबन्दी नहुनु आफैमा दुःखद् पक्ष हो ।

हाल पूर्वाञ्चल क्याम्पस र नेपाल कृषि इन्जिनियर्स सोसाइटीले मात्र सरकारसमक्ष एग्रीकल्चरल इन्जिनियरहरूले काम गर्ने क्षेत्र र उचित वातावरण व्यवस्थापनको माग गर्दै आएका छन् । अधिकार माग गर्ने संस्था, विद्यार्थी र इन्जिनियर बढ्ने हो भने सरकारले सो अधिकार हस्तान्तरण गर्नैपर्ने हुन्छ । त्यसका लागि अन्य विश्वविद्यालय तथा कलेजहरुमा पनि यस विषयको पढाई हुनु आवश्यक छ ।

(काफ्ले नेपाल कृषि इन्जिनियर्स सोसाइटीका सचिव तथा पूर्वाञ्चल क्याम्पस धरानका लेक्चर हुन्)